अन्तर्राष्ट्रिय

गाजा द्धन्द्धमा हमासले बन्धक बनाएकाहरुको शव फेला पर्न थाले

- बीबीसीकाठमाडौं

गाजा द्धन्द्धमा हमासले बन्धक बनाएकाहरुको शव फेला पर्न थालेको छ । शुक्रबार मात्र तीन जना बन्दीको शव भेटिएकोमा थप एक जनाको शव फेला पारेको इजरायली सेनालाई उदृत गर्दै बीबीसीले जनाएको छ । ५३ वर्षिय रोन बेन्जामिनको शव भेटिएको सेनाले पुष्टि गरेको छ ।

अक्टोबर ७ मा गाजाको सीमा नजिक २ सय ५२ जनाको समूहलाई हमासले कब्जामा लिएर बन्धक बनाएको थियो । बन्धक बनाइएका शनि लुक, अमित बुस्किला, र इत्झाक गेलेरेन्टरको यस अघि शव फेला परेको थियो ।

पछिल्लो पटक भएको वार्ता पश्चात बन्धकहरुको रिहाईको अपेक्षा भएपनि एक पछि अर्को मारिन थालेका हुन् ।

वार्तामार्फत बन्धकमा परेकाको रिहाईको माग गर्दै इजरायली सडकमा सयौंको संख्यामा नागरिकहरु उत्रिएका छन् ।

उनीहरुले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजीनामाको समेत माग गरेका छन् ।

यस अघि नोबेम्बरमा भएको वार्ताको सम्झौता अनुसार हमासले १ सय ५ जना बन्धकको रिहाई गरेको थियो भने इजरायली जेलमा रहेका २ सय ४० जना प्यालेष्टाइनी जेलमुत्त भएका थिए ।

पछिल्लो पटक मारिएका बन्धकहरुबारे भने हमासले कुनै जिम्मेवारी लिएको छैन । पछिल्लो ७ महिना यतादेखि भएको युद्धमा परि ३४ हजार भन्दा बढी मानिस मारिएका छन् ।