अन्तर्राष्ट्रिय

अत्यधिक गर्मीका कारण साउदीमा १३ सय बढी हजयात्रीको मृत्यु

- एजेन्सीकाठमाडौं

साउदी अरेबियामा भएको हज यात्राको क्रममा यो वर्ष १ हजार भन्दा बढीको मृत्यु भएको छ । हज यात्राको क्रममा अत्यधिक गर्मीका कारण १ हजार ३ सय १ जनाको मृत्यु भएको समाचार संस्था बीबीसीले जनाएको छ ।

मृत्यु भएका मध्ये धेरैजसो ५० डिग्री सेल्सियस भन्दा माथिको अत्यधिक गर्मीमा लामो दूरी पैदल हिँड्ने तीर्थयात्री छन् । मृत्यु भएकामा धेरै जसो वृद्धवृद्धा तथा दीर्घरोगी बढी भएको साउदी अरेबिया सरकारलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ ।

ती तीर्थयात्रीहरुले बिना अनुमति लामो दूरी पैदल हिँडेका कारण गर्मीबाट बच्न उपलब्ध गराइएको सुविधा पाउन सकेका थिएनन् । आधिकारिक अनुमति प्राप्त नगर्नेहरुका लागि सुरक्षा सुनिश्चित गर्न पर्याप्त व्यवस्था नगरेको भन्दै साउदी अरेबियाको आलोचना समेत भएको छ ।

धेरै देशले आफ्ना नागरिकको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेका छन् । हजका क्रममा अत्यधिक गर्मीले मृत्यु भएकामा सबैभन्दा धेरै इजिप्टका तीर्थयात्री छन् । समाचार एजेन्सी एएफपीले अरबका एक कूटनीतिज्ञलाई उद्दृत गर्दै इजिप्टका ६ सय ५८ तीर्थयात्रीको मृत्यु भएको बताएको छ ।

इन्डोनेसियाले आफ्ना २ सय बढी नागरिकको ज्यान गुमाएको बताएको छ भने भारतले ९८ जनाको मृत्यु भएको जनाएको छ । घटनाको प्रतिक्रिया स्वरुप, केही देशले अवैध तीर्थयात्रा गराउने ट्राभल एजेन्सीविरुद्ध कारबाही गरेका छन् ।

हज यात्रा मुस्लिमका लागि अनिवार्य धार्मिक क्रियाकलाप हो । जोखिमका बाबजुद, धेरैले खर्च जोगाउने उद्देश्यले बिना अनुमति यात्रा गर्ने गर्छन् ।