राष्ट्रिय

सरकारले मृत्युदर र बिरामी दर घटाउने लक्ष्यका साथ काम गरिरहेको छः स्वास्थ्यमन्त्री यादव

- केएफएम डेस्ककाठमाडौं

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मृत्युदर र बिरामी दर घटाउने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा स्वास्थ्य मन्त्रालयको बजेटबारे सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले पूर्वाधार र जनशक्ति स्वास्थ्य क्षेत्रको मुख्य चुनौती रहेको समेत बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा सुधारका लागि पहल जारी राखिएको मन्त्री यादवले उल्लेख गर्नुभयो । हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा जान नदिन विस्तारित सेवा केही संघीय अस्पतालमा लागू भइसकेको मन्त्री यादवको भनाइ छ ।

उपत्यकाका ठूला अस्पतालहरूमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको उहाँले बताउनुभयो । अर्को प्रसँगमा मन्त्री यादवले केही निजी अस्पतालले सेवाग्राहीलाई ठगीरहेको बताउनुभयो ।

मन्त्री यादवका अनुसार मिर्गौला सम्बन्धी रोगको उपचारका लागि ४ लाख ५० हजारसम्म सहुलियत प्रदान भइरहेको छ । त्यस्तै, वीर अस्पतालमा सबै किसिमको स्वास्थ्य सेवा उपलब्ध गराएर स्वदेशमै स्वास्थ्य सेवाको अवधारणा अघि बढाइएको उहाँको भनाइ थियो ।