बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाइ
- काठमाडौंबंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मुहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाइ पाउनुभएको छ ।
बंगलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी)ले युनुसविरुद्व भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो । बंगलादेशका सञ्चारमाध्यमका अनुसार भ्रष्टाचार विरोधी आयोगले ढाका अदालतमा दायर गरेको उजुरी फिर्ता लिएपछि उहाँले सफाइ पाउनुभएको हो ।
युनुसलाई ग्रामीण टेलिकमको अध्यक्ष हुँदा श्रम कानुन उल्लङ्घन गरेको आरोप समेत लागेको थियो । अन्तरिम सरकार गठन हुनुभन्दा एक दिनअघि नै श्रम कानुन उल्लङ्घनसम्बन्धी मुद्दामा युनुसलाई सफाइ दिइएको थियो। गत जनवरीमा यस प्रकरणका सबै अभियुक्तलाई ६ महिना कैद र २० हजार जरिवाना सुनाइएको थियो ।
त्यस्तै गत जुनमा युनुससहित अन्य १३ जनालाई ३० करोडभन्दा बढी भ्रष्टाचार गरको आरोपमा मुद्दा दायर गरिएको थियो । यस मुद्दामा पनि युनुसले सफाइ पाउनुभएको बताइएको छ ।