बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अनुसन्धान सुरु
- काठमाडौंबंगलादेशमा भएको प्रदर्शनका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको विषयमा पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अनुसन्धान सुरु भएको छ ।
राजधानी ढाकामा केही समय अघि भएको हिंसात्मक प्रदर्शनमा एक व्यापारीको गोली हानी हत्या गरेको विषयमा पूर्वप्रधानमन्त्री हसिना सहित तत्कालीन सरकारका अन्य छ जना शीर्ष व्यक्तित्वमाथि पनि अनुसन्धान सुरु भएको हो । प्रर्दशनका क्रममा एक खाद्य पसलका सञ्चालकको हत्या भएको भन्दै व्यापारी आमिर हम्जाले हसिना र अन्य ६ जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।
सो मुद्दालाई ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतले सुनुवाइका लागि स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । बंगलादेशमा तत्कालीन सरकारविरुद्व प्रदर्शन उग्र बनेपछि पूर्वप्रधानमन्त्री हसिना भने राजीनामा दिएर छिमेकी भारतको शरणमा पुग्नुभएको छ ।
बंगलादेशमा भएको विरोध प्रदर्शन र हिंसाका क्रममा ४ सय बढीको मृत्यु भएको थियो । तीमध्ये धेरैलाई हसिनाको आदेशमा प्रहरीले गोली हानेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।