गाजा युद्धविराममा सहमत हुन इजरायललाई अमेरिकाको दबाब
- काठमाडौंअमेरिकाका राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा युद्धविराम र बन्धकको रिहाइको लागि सहमत हुन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई दबाब दिनु भएको छ ।
राष्ट्रपति बाइडनले हिजो नेतन्याहुलाई टेलिफोन गरी बन्धक रिहाइका लागि युद्धविराम सहमतिमा पुग्नु अत्यावश्यक रहेकोमा जोड दिनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । तर, इजरायल र हमास भने आ–आफ्नो अडानमा अडिग छन् ।
उपराष्ट्रपति कमला ह्यारिस सहितको बैठकमा बाइडेनले नेतन्याहुलाई युद्धविराम र बन्धक रिहाइ सम्झौता पूरा गर्नको लागि जोड दिएको ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ । युद्धविरामका लागि सहमित जुटाउन मध्यपूर्वको भ्रमण सकेर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन स्वेदश फर्के लगत्तै बाइडेन र नेतन्याहुबीच टेलिफोन वार्ता भएको हो ।
टेलिफोन वार्तामा बाइडेनले आगामी साता कायरोमा हुने युद्धविराम तथा बन्धक रिहाइ सम्बन्धी वार्ता महत्वपूर्ण हुने बताउनु भएको थियो । इजरेल र हमासबीचको मतभेदलाई कम गर्न महिनौंदेखि प्रयास गरिरहेका अमेरिका, इजिप्ट र कतारी मध्यस्ताकर्ताबीच यस हप्ताको अन्त्यमा कायरोमा वार्ता हुने अपेक्षा गरिएको छ ।
यद्यपि, इजरायलले भने आफ्ना सबै उद्देश्य प्राप्त गर्नका लागि प्रतिवद्ध रहेको बताएको छ । हमासका अधिकारीहरुले समेत प्यालेस्टाइन इस्लामिक जिहादका प्रमुखसँग भएको वार्तामा आफ्ना माग दोहोर्याएका छन् । इजरेयलको पछिल्लो आक्रमणमा परि ५० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।