इजरेल र हमास ३ दिने युद्धविराम गर्न सहमत
- काठमाडौंगाजा क्षेत्रका बालबालिकालाई पोलियोको खोप लगाउन इजरेली सेना र विद्रोही हमासबीच ३ दिने युद्धविराम गर्न सहमति भएको छ ।
गाजाको मध्य क्षेत्रमा युद्ध स्थगित गर्ने इजरेल र हमास सैन्य समूहले सहमती गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
गाजा क्षेत्रमा एक जना शिशुमा पोलियो संक्रमण पुष्टी भएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले पोलियोको खोप लगाउने तयारी गरेको हो ।
गाजा क्षेत्रका एक जना शिशुमा गतसाता पोलियो संक्रमण देखिएको थियो ।
सो क्षेत्रमा ६ लाख ४० हजार बालबालिका रहेको रोयटर्सले उल्लेख गरेको छ ।
सुरुमा ३ दिन युद्ध स्थगित गरिने समझदारी भएपनि आवश्यकताका आधारका थप केहीदिन लम्बिन सक्नेमा दुवै पक्ष सकारात्मक भएको डब्लुएचओका प्रतिनिधिले जनाएका छन् ।
खोप कार्यक्रममा सबै बालबालिकालाई समेट्न अधिकतम प्रयास गरिने जनाइएको छ ।
पोलियो संक्रमण नियन्त्रणका लागि कम्तीमा ९० प्रतिशत बालबालिकालाई खोप लगाउनुपर्ने डब्लुएचओका प्रतिनिधिको भनाई छ ।
मध्य गाजामा खोप कार्यक्रम सम्पन्न भएपछि दक्षिणी क्षेत्रका बालबालिकालाई समेत खोप कार्यक्रममा समेट्ने डब्लुएचओको तयारी छ ।