अन्तर्राष्ट्रिय

श्रीलंकामा राष्ट्रपतीका लागि स्पष्ट बहुमत नहुँदा दोस्रो चरणको मतगणना सुरु

- एजेन्सी काठमाडौं

दक्षिण एसियाली मुलुक श्रीलंकामा राष्ट्रपतीय चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना सुुरु भएको छ । 

पहिलो चरणको मतगणनाअनुसार वामपन्थी नेता अनुरा कुमारा दसानायके अग्रस्थानमा रहेपनि विजयी हुन आवश्यक ५० प्रतिशतभन्दा बढी मत ल्याउन भने सक्नुभएन । स्थानीय सञ्चारमाध्यमका अनुसार दसानायकेले ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गर्नुभयो ।

 दोस्रो स्थानमा रहेका साजिथ प्रेमदासाले ३२ दशमलव ७६ प्रतिशत मत ल्याउनुभएको थियो । दोस्रो कार्यकालको राष्ट्रपति बन्ने दौडमा रहेका राष्ट्रपति रनिल विक्रमासिंघेले १७ दशमलव २७ प्रतिशत मत प्राप्त गरेको डेली मिररले जनाएको छ । 

निर्वाचन आयोगले अब मतदाताले दोस्रो र तेस्रो प्राथमिकताका राष्ट्रपति छानेको मत गणना गर्ने जनाएको छ । श्रीलंकाको राष्ट्रपति चुनाव पहिलोपटक दोस्रो चरणको मतगणनामा पुगेको हो । चुनावमा मतदाताले पहिलो, दोस्रो र तेस्रो प्राथमिकताका क्रममा तीन उम्मेदवारलाई मत दिन पाउने व्यवस्था गरिएको थियो ।

आयोगका अनुसार पहिलो र दोस्रो स्थानमा रहेका दसानायके र प्रेमदासाबाहेक अन्य उम्मेदवार चुनावी दौडबाट बाहिरिएका छन् । त्यसरी बाहिरिएकालाई पहिलो उम्मेदवारका रूपमा चयन गरिएको मतको दोस्रो र तेस्रो मत दशानायके वा प्रेमदासामध्ये कसलाई प¥यो भन्ने आधारमा राष्ट्रपतिको विजेता घोषित गरिनेछ ।