अन्तर्राष्ट्रिय

पाकिस्तानको कराँची विमानस्थल नजिकै विस्फोट, दुईको मृत्यु

- बीबीसीकाठमाडौं

पाकिस्तानको कराँचीस्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विस्फोट हुँदा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको छ । 

पाकिस्तानस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै आइतबार राति भएको आतंकवादी हमलामा दुई चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ । अन्य १० जना घाइते भएका छन् । 

दूतावासले धेरै पाकिस्तानीको पनि मृत्यु हुन सक्ने आशंका व्यक्त गरेको छ । घटनामा कति जनाको मृत्यु भएको भन्ने यकिन तथ्यांक अहिलेसम्म सार्वजनिक भएको छैन । 

घटना हुनासाथ आपतकालीन कार्यमा खटिने उद्धारकर्ताले घाइतेलाई आगलागी भएको स्थानबाट निकालेको र नजिकैको जिन्नाह अस्पतालमा उपचारका लागि भर्ना गराएको समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । 

यस घटनाको जिम्मेवारी पाकिस्तानको पृथकतावादी बलुचिस्तान लिबरेशन आर्मी बीएलएले लिएको छ । सो समूहले सिन्ध प्रान्तमा विद्युत परियोजनामा काम गरिरहेका चिनियाँ इन्जिनियर र लगानीकर्ताको काफिलेलाई निशाना बनाएको दूतावासले बताएको छ ।

सिंध प्रान्तका गृहमन्त्री जीया उल हसनले सो विस्फोट विदेशी नागरिक लक्षित भएको बताउनुभएको छ । बीएलएले इन्जिनियर सहित चिनियाँ नागरिकलाई लक्षित गरी विस्फोट गराएको इमेल मार्फत् पत्रकारलाई जानकारी गराइएको छ । 

घटनास्थलको निरीक्षण गरेका कराँची प्रहरीका प्रवक्ता गुलाम महेसरले विस्फोटले इन्धन ट्याङ्करमा पनि आगो लागेको र नजिकैका धेरै सवारी साधन पनि जलेको बताएका छन् ।