अन्तर्राष्ट्रिय

पाकिस्तानमा विद्यार्थी प्रदर्शन चर्किएपछि शैक्षिक संस्थाहरू दुई दिन बन्द

- केएफएम डेस्ककाठमाडौं

पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यार्थीहरूको प्रदर्शन चर्किएपछि शैक्षिक संस्थाहरू बन्द गरिएको छ । प्रदर्शन चर्किएसँगै पञ्जाब प्रान्तका अधिकारीहरूले आज र भोलि सार्वजनिक स्थानमा भेला हुन समेत रोक लगाएका छन् ।

विद्यालय बन्द गरिएसँगै पञ्जाब प्रान्तका करिब २ करोड ६० लाख बालबालिको पठनपाठन प्रभावित भएको जनाइएको छ । प्रान्तीय राजधानी लाहोरमा ‘पञ्जाब कलेज फर वुमेन’ को भवनको पार्किङस्थलमा एक छात्रामाथि बलात्कार भएको समाचार सामाजिक सञ्जालमा फैलिएपछि विद्यार्थीहरूको विरोध प्रदर्शन सुरु भएको हो ।

तर प्रहरी, कलेज र प्रान्तीय सरकारले कुनै पनि पीडित नभेटिएको र सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको बताएका छन् । अधिकारीहहरूले सर्वसाधारणलाई आन्दोलित नहुन आग्रह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । लाहोरका साथै राजधानी इस्लामावादसँग जोडिएको रावलपिण्डीका क्याम्पसहरूमा पनि प्रदर्शन फैलिएको छ । प्रदर्शनकारीहरूले लाहोरस्थित क्याम्पस र सवारी साधनहरूमा आगजनी गरेका छन् ।

प्रदर्शनका क्रममा कैयौं स्थानमा विद्यार्थी र प्रहरीबीच झडपहरू भएका छन् । विद्यार्थीहरूले भने सत्य ढाकछोप गरी आफ्नो संस्थाको साख जोगाउन सरकार र उच्च अधिकारीलाई घूस दिइएको दाबी गरेका छन् । लाहोरकी मुख्यमन्त्री मरियम नवाज सरिफले गलत पोस्ट फैलाउनेलाई दण्डित गरिने बताउनु भएको छ ।