गाजाको मध्य भागमा इजरायलको आक्रमणः ४७ जना बढीको मृत्यु
- काठमाडौंइजरायली सेनाले गाजा पट्टीको मध्य क्षेत्रमा रातभर बमबारी गरेपछि ४७ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइनको समाचार एजेन्सी वाफाले जनाएको छ ।
हमलामा दर्जनौं घाइते भएका छन् । जसमध्ये अधिकांश बालबालिका र महिला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले देयर अल–बाला सहर, नुसेराट शिविर र अल–ज्वाइदा सहरमा बमबारी गरेको थियो । इजरायली सेनाले भने आफ्नो सेनाले मध्य गाजामा सशस्त्र आतंकवादीहरूलाई पहिचान गरी हमला गरेको जनाएको छ ।
इजरायलले उत्तरी गाजाको जाबालिया क्षेत्रमा लक्षित गर्दै दर्जनौं आतंकवादीलाई मारेको दाबी गरेको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासको नेतृत्वमा अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि गाजा युद्ध सुरु गरेको हो ।
सो हमलामा १ हजार २ सय इजरायलीको हत्या गरी २ सय ५१ जनालाई बन्धक बनाएर गाजामा फिर्ता लगिएको थियो । त्यसयता इजरायलले गरेको सैन्य कारबाहीमा परि ४३ हजार बढी प्यालेस्टीनीको मृत्यु भएको छ । सो क्षेत्रको अधिकांश भाग भग्नावशेषमा परिणत भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।