अन्तर्राष्ट्रिय

पाकिस्तानको लाहोरमा प्रदूषण उच्चः आपतकाल घोषणा गर्न सुझाव

- एजेन्सीकाठमाडौं

पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा अप्रत्यासित रुपमा वायु प्रदूषण बढेको छ । प्रदूषणको दर बढेपछि पाकिस्तानी अधिकारीहरुले आपतकालिन अवस्थाको लागू गर्न सुझाव दिएका छन् । 

लाहोरको वायु प्रदूषणको दर अहिले २ सय ७९ एक्यूआई पुगेको छ । जुन विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा झण्डै ४१ गुणाले बढी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् । 

सरकारी अधिकारीहरुले दिएको सुझावमा घरैबाट काम गर्ने वातावरण मिलाउन र केही समयका लागि प्राथमिक तहका विद्यलयहरु बन्द गर्न भनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । भारत र पाकिस्ताबीचको सीमा क्षेत्रमा मापन गरिएको पछिल्लो वायु गुणस्तर निकै खराब भएपछि सो सुझाव दिइएको हो ।

 सो सुझावपछि पाकिस्तानका बरिष्ठ मन्त्रीले पत्रकार सम्मेलन मार्फत आफ्ना नागरिकलाई घरभित्रै बस्न तथा अनावश्यक यात्रा नगर्न आग्रह गर्दै ५० प्रतिशत कर्मचारीलाई घरबाट काम गर्ने व्यवस्था मिलाइएको बताएका छन् । पाकिस्तानी सरकारले तीनपाङ्ग्रे सवारी चलाउन रोक लगाएको छ भने निमार्ण क्षेत्रका काम पनि तत्काल नगर्न भनेको छ । लाहोरमा एक करोड ४४ लाख बढी मानिस बस्दै आएका छन् ।