अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान सुरु
-अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा उत्रिएका छन् । डेमोक्रेटिक दलकी उम्मेदवार ह्यारिस र रिपब्लिकन दलका उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा इतिहासकै कडा हुने विभिन्न सर्वेक्षणले देखाएका छन् । राष्ट्रपतिमा विजयी हुन पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा गरी ७ वटा राज्य निर्णायक देखिएका छन् । ८२ मिलियन भन्दा बढी नागरिकले अग्रिम रुपमै मतदान गरिसकेका छन् ।
एबीसी न्युजको सर्वेक्षणअनुसार ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ छ भने पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन जुटाएकी छन् । अमेरिकाको राष्ट्रपतिको चुनाव इलेक्टोरल कलेजप्रणालीमा आधारित भएकाले कम मत प्राप्त गर्ने उम्मेदवार पनि राष्ट्रपति बन्न सक्ने सम्भावना हुन्छ । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये कम्तीमा २ सय ७० ल्याउनुपर्नेछ ।
अमेरिकी चुनावका लागि डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूले कुल १० अर्ब ५० करोड डलर विज्ञापनमा खर्च गरेको पाइएको छ । डेमोक्य्राक्ट्सले ५ दशमलब १ अर्ब डलर र रिपब्लिकन्सले ४ दशमलब १७अर्ब डलर खर्च गरेका छन् । बाँकी १ दशमलब ३६ अर्ब डलर स्वतन्त्र समूहहरूले चुनावी विज्ञापनमा खर्च गरेको पाइएको छ । रेडियो, टेलिभिजन, स्याटलाइट, केबल र डिजिटल विज्ञापनमा यत्तिका रकम खर्च गरिएको विज्ञापन गणना गर्ने संख्या एडइम्प्याक्टको तथ्यांकले देखाएको हो । अमेरिकाको नेसनल पब्लिक रेडियो (एनपीआर)ले गरेको विश्लेषणअनुसार सबैभन्दा धेरै पेन्सलभेनियामा उम्मेदवारहरूले विज्ञापनमा पैसा हालेका थिए ।