सान्दार जितसहित दोस्रो पटक ट्रम्पको ह्वाइट हाउसमा पुनरागमन
- काठमाडौंविश्व समुदायको ध्यान खिचेको अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पले ऐतिहासिक जित हात पारेका छन् । रिपब्लिकन उम्मेदवार ट्रम्पले ५४० इलेक्ट्रोल मतमध्ये चुनाव जित्न आवश्यक २ सय ७० को थ्रेसहोल्ड पार गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । चुनावको अन्तिम मत परिणाम भने आउन बाँकी छ ।
पहिलो पटकको प्रतिस्पर्धामा महिला उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गरेको आठ वर्षपछि र जो बाइडेनसँग पराजित भएको चार वर्षपछि पूर्वराष्ट्रपति ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । अघिल्लो पटक चुनाव हारेपछि संसद् भवनमा भएको दङ्गाको घटनाले बिग्रिएको छवि लिएर ह्वाइट हाउसबाट बाहिरिएका उनै ट्रम्पले कडा प्रतिस्पर्धा हुने भनिएको यस पटकको निर्वाचनमा फेरि महिला उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन् । जो बाइडेनले चुनावी रेस छाडेपछि डेमोक्र्याटको तर्फबाट उम्मेदवार भएकी ह्यारिसविरुद्ध सान्दार जित हात पार्दै ट्रम्पले ह्वाइट हाउसमा पुनरागमन जनाएका छन् ।
अमेरिकी चुनावको अभियान र नतिजालाई हेर्दा अमेरिकीहरुले उनीमाथि आप्रवासन र अर्थतन्त्रको मुद्धाका कारण विश्वास गरेको विश्लेषण भएका छन् । आप्रवासन नीतिलाई कडाइ गर्नुपर्ने एजेन्डाका साथै अमेरिकाको खस्किदो अर्थतन्त्रलाई चुनावी मसला बनाएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार ह्यारिसविरुद्ध ऐतिहासिक जित हात पारेका हुन् । स्वीङ स्टेटको रुपमा परिचित जर्जिया, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, र विस्कन्सिन राज्यको साथ पाएपछि ट्रम्पको जित सम्भव भएको विश्लेषण गरिएको छ ।
७८ वर्षीय ट्रम्पले अमेरिकी राष्ट्रपति चुनावमा एक शताव्दी भन्दा पुरानो इतिहासलाई स्मरण गराएका छन् । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार ट्रम्पले १ सय ३२ वर्षपछि नयाँ रेकर्ड बनाएका हुन् । अमेरिकी इतिहासमा पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो चुनाव हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति हुने उनी दोस्रो राष्ट्रपति भएका छन् । यसअघि सन् १८९२ मा ग्रोभर क्लिभल्यान्डले यस्तै रेकर्ड बनाएका थिए । पहिलो पटक सन् १८८५ मा २२ औं राष्ट्रपतिमा निर्वाचित भएका क्लिभल्यान्ड सन् १८८९ मा पराजित भएपनि सन् १८९२ मा २४ औं राष्ट्रपति भएका थिए ।
आफ्ना विवादास्पद अभिव्यक्तिका कारण आलोचित ट्रम्पले अब ह्वाइट हाउसबाट लिने निर्णयले अमेरिकाभित्र मात्र नभई समग्र विश्व राजनीतिलाई असर पार्ने ठानिएको छ । खास गरी रुस–युक्रेन युद्ध, गाजा क्षेत्रमा इजरायलको नरसंहारका साथै अर्को शक्ति राष्ट्र चीन र रुससँगको सम्वन्ध, भूराजनीति, व्यापार र जलवायु परिवर्तन लगायत विश्वव्यापी मुद्धामा ट्रम्पले कस्तो नीति अंगीकार गर्ने हो भन्ने चासोहरु प्रकट भएका छन् ।