अन्तर्राष्ट्रिय

न्यु साउथ वेल्सका नर्सहरु आन्दोलनमा

- नारायण खड्काअस्ट्रेलिया

सरकारले राम्रो तलब सुविधा नदिएको भन्दै बुधबार हजारौं नर्सले अस्ट्रेलियाको ठूलो शहर सिड्नीमा हड्ताल गरेका छन् । उचित तलब दिनुपर्ने माग गर्दै न्यु साउथ वेल्स राज्यका हजारौं नर्स र मिडवाईफहरु बुधबार काम छाडेर विरोध प्रदर्शनमा उत्रिएका हुन् । 

अस्ट्रेलियामा नर्सले राम्रो सेवा सुविधाको माग गर्दै पटक पटक आन्दोलन गर्दै आएका छन् । न्यु साउथ वेल्समा नर्सिङ्ग पेसामा रहेकाहरुले आफूहरुलाई १५ प्रतिशत तलब वृद्धिको माग गरेका हुन् । 

पटक पटक भएको छलफलपछि पनि सो सुविधा उपलब्ध नभएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नर्सिङ्ग तथा मिडवाईफ एसोसिएसनले बुधबार बिहान ७ बजेदेखि विरोध प्रदर्शन सुरु गर्दै काममा जान मानेनन् । २४ घण्टे आन्दोलनमा उत्रिएका उनीहरुको कारण सर्जरी लगायतका महत्वपूर्ण सेवा अवरुद्ध भएको स्थानीय समाचार माध्यमले जनाएका छन् ।

आन्दोलनमा उत्रिएका नर्सहरुले आफूहरुलाई सुरक्षित काम गर्ने वातावरण बन्नुपर्ने, लिङ्गको आधारमा हुने तलबको भेदभाव अन्त्य हुनुपर्ने लगायत माग समेत राखेका छन् । सहभागी नर्सले कम तलब तथा अन्य बिभिन्न समस्याका कारण पुराना नर्सले आफ्नो पेशा नै छाड्नुपर्ने अवस्था आएको भन्दै सरकारको आलोचना गरेका छन् ।

न्यु साउथ वेल्स सरकारले भने ३ प्रतिशत तलब वृद्धिको प्रस्ताव राखेको तर आन्दोलनरत नर्सहरुले सो प्रस्ताव अस्वीकार गरेको स्थानीय समाचारमा उल्ल्खे गरिएको छ । न्यु साउथ वेल्स सरकारले हालै शिक्षक, पारामेडिक्स तथा प्रहरीको तलबमा ४० प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको थियो । तर, नर्सहरुलाई उपेक्षा गरिएको भन्दै उनीहरुले सरकारप्रति असन्तुष्टि जनाएका छन् । 

आन्दोलनका कारण नर्सहरु आफ्नो काममा नफर्किएपछि करीब ७ सय सर्जरी प्रभावित भएका छन् । आन्दोलनमा सिड्नीका मात्र नभएर न्यु साउथ वेल्स राज्यको ग्रामीण भेगमा रहेका नर्स तथा मिडवाईफ समेत सहभागी थिए । 

सहभागीले उचित तलबमानको ब्यवस्था हुनुपर्ने, आफ्नो कामको मूल्यांकन गरिनुपर्ने लगायत माग सहितका प्लेकार्ड बोकेका थिए । राज्यका स्वास्थ्यमन्त्री रायन पार्कले सरकारले अन्तरिम पारिश्रमिक वृद्धि गराउनका लागि काम गरिरहेको भएपनि नर्सिङ्ग सम्बद्ध संस्था प्रतिबद्धताबाट पछि हटेर हडतालमा उत्रिएको बताएका छन् ।