विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १ सय ७९ पुग्यो
-दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १ सय ७९ पुगेको छ । दुर्घटनामा दुई जनाको जीवितै उद्धार समेत गरिएको कोरियाको योनहाप समाचार संस्थाले जनाएको छ । उनीहरु दुवैजना चालक दलका सदस्य हुन् ।
थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आज विहान दुर्घटनामा परेको हो । १ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो । आपत्कालिन सेवाका अधिकारीहरुले उद्धार कार्य जारी रहेको जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक दृष्यमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखिन्छ । दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन ।
यद्यपी, अनुसन्धानकर्ताले चरासँग ठोकिएको या खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । सो विमान दुर्घटना कोरियामा सन् १९९७ पछिको सबैभन्दा ठूलो दुर्घटना मानिएको छ । सन् १९९७ मा कोरियन एअरको विमान दुर्घटना हुँदा २ सय जना मारिएका थिए भने सन् २००२ मा एअर चाइना दुर्घटना पर्दा १२९ जनाको मृत्यु भएको थियो ।