अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन
- काठमाडौंअमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १ सय वर्षको उमेरमा निधन भएको छ । कार्टरको जोर्जियाको प्लेन्सस्थित निवासमा निधन भएको कार्टर सेन्टरलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । नोेबेल शान्ति पुरस्कार विजेता कार्टर केही समयदेखि ‘मेलानोमा’ नामक रोगबाट पीडित हुनुहुन्थ्यो ।
छालाको क्यान्सर सम्बन्धी यो रोग उहाँको कलेजो र मस्तिष्कमा फैलिएको थियो । सन् १९२४ अक्टोबर १ मा जन्मिएका कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९ औं राष्ट्रपति बन्नुभएको थियो । उहाँ अमेरिकी इतिहासमा सबैभन्दा लामो समय जीवित रहेका राष्ट्रपति समेत हुनुहुन्थ्यो ।
कार्टरको जन्म अमेरिकाको एक किसान परिवारमा भएको थियो । सन् १९६० मा राजनीतिमा प्रवेश गरेका कार्टर सन् १९७१ मा पहिलो पटक आफ्नो राज्यको गभर्नर बन्नुभएको थियो । कार्टर रिपब्लिकन पार्टीका अध्यक्ष जेराल्ड फोर्डलाई हराएर राष्ट्रपति बन्नु भएको थियो ।
राष्ट्रपति पद छाडेपछि उहाँले आफ्नो संस्था ‘कार्टर सेन्टर’ मार्फत लामो समयसम्म मानवीय काम सञ्चालन गर्नुभएको थियो । अन्तर्राष्ट्रिय द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्ने, लोकतन्त्र र मानव अधिकारलाई अगाडि बढाउन, आर्थिक तथा सामाजिक विकासमा पु¥याएको योगदानको कदर स्वरुप कार्टरलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
कार्टरले अमेरिकाको बिग्रिएको अर्थतन्त्रलाई लयमा ल्याउन संघर्ष गर्नुभएको थियो । राष्ट्रपति जो बाइडन, पूर्व राष्ट्रपति बाराक ओबामा लगायत विश्वका नेताहरुले उहाँको निधनप्रति दुःख व्यक्त गरेका छन् । कार्टर चुनाव पर्यवेक्षण लगायत विभिन्न उद्देश्यले नेपाल भ्रमणमा पनि आउनुभएको थियो ।