दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी
- काठमाडौंदक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिमी जिल्ला अदालतले निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पुष्टि गरेको हो ।
सैनिक शासन लगाउने असफल प्रयास गरेका युनविरुद्ध त्यहाँको अदालतले पक्राउ पुर्जी जारी गरेको अनुसन्धानमा संलग्न अधिकारीलाई उद्दृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसअघि उहाँलाई संसदबाट महाभियोग लगाइएको थियो । महाभियोग लगाइएसँगै छानबिन पछि अदालतले सो निर्णय गरेको हो । दक्षिण कोरियामा पहिलो पटक कुनै पनि राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
अदालतले आगामी जनवरी ६ तारिखसम्म उहांलाई पक्राउ गर्न आदेश दिएको छ । सो पश्चात उहाँलाई सियोल डिटेन्सन केन्द्रमा बन्दी बनाएर राखिने त्यहाँको भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने कार्यालयका अधिकारीले जनाएका छन् ।
युनलाई विद्रोही नेताको आरोपमा हाल अपराधिक क्रियाकलापबारे अनुसन्धान भइरहेको छ । दक्षिण कोरियामा विद्रोहलाई कडा रुपमा गैह्रकानूनी मानिन्छ । यसैबीच, राष्ट्रपति युन विरुद्ध जारी गरिएको पक्राउ पुर्जी प्रति उहाँको पिपुल्स पावर पार्टी पीपीपीले अनुचित भएको जनाएको छ ।