परमाणु कार्यक्रमबारे अमेरिकासँग सम्वाद गर्न इरानको सर्त
- काठमाडौंकेएफएम डेस्क
काठमाडौं
इरानले परमाणु कार्यक्रमबारे अमेरिकासँग सम्वाद गर्न सर्तहरु राखेको जनाएको छ ।
इरानले अमेरिकाले परमाणु कार्यक्रम सम्बन्धी रद्द गरेको संयुक्त वृहत् कार्ययोजना फिर्ता नगरेसम्म वार्तामा नबस्ने जनाएको हो । इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले अमेरिकासँग इरानले राखेको सो सर्तबारे टुङ्गो लागेपछि छलफल गर्ने जानकारी दिनुभयो । उहाँले सबैसँग वार्ता गरेर, बेलायत, फ्रान्स र जर्मनीसँग वार्ता गरेर परमाणु वार्ता पुनः सुचारु गर्ने उपाय खोज्नु रहेको बताउनुभयो ।
सन् २०१५ मा इरान र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का ५ स्थायी सदस्य र जर्मनीसँग कार्ययोजनामा सम्झौता भएको थियो । सम्झौताअनुसार इरानमाथि लगाइएका केही प्रतिबन्ध फुकुवाको सट्टामा परमाणु कार्यक्रममा प्रतिबन्ध लगाइनेछ ।
सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु कार्यक्रम र क्षेत्रीय प्रभाव कम गर्न नसकेको कारण देखाउँदै सम्झौताबाट पछि हटेका थिए । त्यसको एक वर्षपछि इरानले परमाणु कार्यक्रममा लगाइएको प्रतिबन्ध तोड्दै परिक्षण गर्न थालेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन इरानसँग वृहत् कार्ययोजनामा सम्झौता गर्न सकारात्मक रहेपनि प्रक्रिया अगाडि बढेको थिएन । फेरि, अहिले ट्रम्पको कार्यकाल सुरु हुन लाग्दा सो विषय सतहमा आएको हो ।