इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता कार्यान्वयन सुरु
- काठमाडौंइजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच भएको युद्धविराम सम्झौता कार्यान्वयनमा आएको छ । हमाससँग भएको सहमतिलाई इजरायल सरकारले मन्त्रिपरिषदबाट हिजो अनुमोदन गरेपछि आजबाट युद्धविरामको कार्यान्वयन सुरु भएको हो ।
दुवै पक्षले एक अर्काका बन्दीलाई रिहाई गर्ने प्रक्रिया सुरु हुने बताइएको छ । जनवरी १९ देखि १ मार्चसम्म हुने पहिलो चरणको युद्धविराम अन्तर्गत दुवै समूहले एक अर्काका बन्दी रिहाई प्रक्रिया सुरु गर्नेछन् । इजरायलको न्याय मन्त्रालयले आज ६९ महिला, १६ पुरुष र १० नाबालिगलाई मुक्त गर्ने जनाएको छ ।
हमासले पनि बन्दक बनाएका इजरायली र अन्य देशका नागरिकको रिहाई प्रक्रिया सुरु गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यो बीचमा दुवै पक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति भएका छन् । यस्तै, दुई पक्षबीचको वार्तालाई जारी राख्ने र त्यसको अन्तर्राष्ट्रिय समुदायले निरन्तर निगरानी गर्ने सहमति भएको थियो ।
युद्धविराम सम्झौता कार्यान्वयन अमेरिकासहित चार देशका प्रतिनिधिले निगरानी गर्ने छन् । निगरानीका लागि अमेरिका, इजिप्ट, कतार र इजरायलका प्रतिनिधि रहेको एक संयुक्त कार्यालय समिति गठन गरिएको छ । मानव अधिकारवादी संस्थाले पनि आफ्नो ढंगले निगरानी जारी राख्ने बताइएको छ ।