अन्तर्राष्ट्रिय

अमेरिकाका राष्ट्रपति ट्रम्पको नयाँ नीतिले विश्वव्यापी प्रभाव

- एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हाले लगत्तै एकपछि अर्को अमेरिकी नीतिमा प्रभाव पार्ने फैसलाहरु घोषणा गर्नुभएको छ । जसको सिधा असर विश्व्यापी रुपमा पर्ने देखिन्छ । राष्ट्रपति ट्रम्पले केही विवादास्पद घोषणा र कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि त्यसको चौतर्फी प्रभाव पर्ने भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् भने विश्व स्वास्थ्य संगठन डव्लूएचओबाट बाहिरिने सम्बन्धी कार्यकारी आदेशमा समेत हस्ताक्षर गरेका छन् । 

ट्रम्पले पेरिस सम्झौता र डव्लूएचओबाट बाहिरिने घोषणा गरेपछि बेइजिङले त्यसमा चिन्ता र चासो व्यक्त गरेको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमार्फत् जानकारी दिँदै बेइजिङले अमेरिका महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चहरुबाट बाहिरिँदा चिन्तित भएको र चीन अन्तर्राष्ट्रिय सहयोगप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । ट्रम्पले कार्यभार सम्हाले लगत्तै ह्वाईट हाउसले राष्ट्रिय ऊर्जा आपतकाल घोषणा र अमेरिकी जलवायु नियमलाई परिवर्तन गर्दै तेल र ग्यास उत्पादन वृद्धि गर्ने योजना अघि सारेको छ ।

यसैगरी, राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीलाई रोक्न कडा फैसला लिनुका साथै जन्मको आधारमा पाइने नागरिकता समेत खारेज गर्ने आदेश दिनुभएको छ । अमेरिकी संविधानको १४ औँ संशोधनअनुसार जन्मको आधारमा नागरिकता दिने प्रावधान छ । राष्ट्रपति ट्रम्पले नागरिकताको जन्मसिद्ध अधिकार खारेज गर्ने आदेशमा हस्ताक्षर गर्नुभएपछि सो व्यवस्था खारेज हुन लागेको हो । अबको ३० दिनपछि अमेरिकामा जन्मने शिशुमा सो आदेश लागु हुने बताइएको छ । एचवानबी भिसा र ग्रीनकार्ड कुरेर बसेका आप्रवासीलाई ट्रम्पको सो आदेशले नागरिकता पाउन झन कठिन हुने बताइन्छ । सो कानुनको प्रत्यक्ष असर मेक्सिको, क्यानडा र भारतजस्ता मुलुकमा पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपी, ट्रम्पको सो आदेशलाई लिएर अमेरिकाको अदालतमा चुनौती दिने तयारी पनि भइरहेको छ ।