भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ताको पहल शुरु
-भारतीय र अमेरिकी कूटनीतिज्ञहरूले आगामी फेब्रुअरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वासिङ्टनमा भेटवार्ता गराउने पहल शुरु गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार मोदी र ट्रम्पबीच भेटवार्ताको लागि कूटनीतिक प्रयास भइरहेको जनाएको छ ।
अमेरिकाले रणनीतिक साझेदारको रुपमा भारतलाई हेरेको छ । भारतले भने अमेरिकासँग व्यापार सम्बन्ध बढाउन र आफ्ना नागरिकलाई दक्ष कामदार भिसा प्राप्त गर्न सजिलो बनाउन खोजेको छ । यिनै दुई एजेण्डामा मोदी र ट्रम्पबीच छलफल हुन सक्ने बताइएको छ । ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनसँगै अमेरिकाले भारतीय सामानमा शुल्क लगाउने बारेमा नयाँ दिल्लीमा चिन्ता बढेको छ ।
यसअघि ट्रम्पले अमेरिकी सामानमा भारतले उच्च शुल्क लगाएको भन्दै आलोचना गर्नुभएको थियो । ट्रम्पले पनि जवाफमा यस्तै शुल्क लगाउने पक्षमा रहेको बताइन्छ ।