अन्तर्राष्ट्रिय

महाकुम्भ मेलामा भागदौड मच्चियो, कयौं घाइते

- बीबीसीकाठमाडौं

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा भागदौड मच्चिएको छ । महाकुम्भ मेलाको घाटमा गएराति करीब साढे एक बजेतर भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको बताए पनि आधिकारिक जानकारी भने आइसकेको छैन । 

भागदौड मच्चिँदा थुप्रै घाइते भएको हुनसक्ने आकलन गरिएको छ । यद्यपि, त्यहाँको प्रशासनले अहिलेसम्म मृतक र घाइतेको संख्या भने सार्वजनिक गरेको छैन । मौनी अमावस्याका अवसरमा मंगलबार साँझदेखि शाही स्नान चलिरहेको बेला सोे घटना भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । 

प्रत्यक्षदर्शीका अनुसार अचानक भीडले अवरोध तोडेर मानिसहरुमाथि आक्रमण गरेको कारण भागदौड मच्चिएको हो । यो घटनापछि सतर्कता अपनाउन १३ वटा अखाडाले मौनी अमावस्या अर्थात् अमृत स्नान रद्द गरेको अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीलाई उद्दृृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोनमा कुरा गर्दै घटनाबारे जानकारी लिनु भएको छ । प्रशासनले मौनी अमावस्यामा शाही स्नानको अवसरमा प्रयागराजमा ८ देखि १० करोड भक्तजन हुने अनुमान गरेको छ । 

जनवरी १३ बाट सुरु भएको महाकुम्भ मेलामा ६ वटा शाही स्नान हुनेछ । ती मध्ये दुई पहिले नै भइसकेका छन् भने तेस्रो शाही स्नान आज हुँदैछ । यद्यपि, सो घटनापछि आजको स्नान तत्कालका लागि स्थगित गरिएको छ । चौथो शाही स्नान फेब्रुअरी ३ मा, पाँचौं शाही स्नान फेब्रुअरी १२ मा र छैटौं तथा अन्तिम शाही स्नान फेब्रुअरी २६ मा हुनेछ ।