अन्तर्राष्ट्रिय

भारतद्वारा नयाँ बजेट सार्वजनिक, नेपाललाई ११ अर्ब अनुदान दिने

- एजेन्सीकाठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट संसदमा प्रस्तुत भएको छ । केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले लगातार आठौं बजेट सार्वजनिक गर्नुभएको हो । बजेटले त्यहाँको मध्यम वर्गीय परिवार तथा बिहार विधान सभाअघि बिहार लक्षित बजेट पेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जसमा वार्षिक १२ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने परिवारले कर तिर्न नपर्ने सहुलियत दिएर मध्यमवर्गीय परिवारलाई सहयोग गरेको छ । बजेटले खाद्य, इन्धन तथा अन्य आवश्यक वस्तुमा बढ्दो महँगी नियन्त्रण, रोजगारी वृद्धिलगायत विषयलाई पनि सम्बोधन गरेको छ ।

संसद भवनमा बजेट प्रस्तुत गर्नुअघि वित्तमन्त्री सीतारमणले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नु भएको थियो । आगामी वर्ष भारतको अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतसम्म वृद्धि हुने त्यहाँको अर्थ मन्त्रालयले प्रक्षेपण गरेको छ । यसैबीच भारत सरकारले नेपाललाई पछिल्लो बजेटमार्फत ७ सय करोड भारतीय रुपैयाँ अर्थात ११ अर्ब रुपैयाँ भन्दा बढी अनुदान दिने भएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा आज प्रस्तुत गर्नुभएको वार्षिक बजेटमा ७ अर्ब भारु अर्थात करिब सवा ११ अर्ब रुपैयाँ अनुदान दिने बताउनुभएको हो । भारत सरकारले नेपाललाई गत वर्षपनि ७ अर्ब भारु अनुदान दिएको थियो ।