दिल्ली विधानसभा चुनावका लागि मतदान सुरु
- काठमाडौंभारतमा दिल्ली विधानसभा चुनावका लागि मतदान सुरु भएको छ । स्थानीय समय अनुसार बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म मतदान हुनेछ । दिल्ली चुनावमा ६ सय ९९ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।
भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त राजीव कुमारका अनुसार दिल्ली विधान सभाको नतिजा फेब्रुअरी ८ मा सार्वजनिक गरिने छ । दिल्ली विधान सभा चुनावमा ७० सिटमा चुनाव हुँदैछ ।
कुल ७० मध्ये १२ आरक्षित छन् भने ५८ सिट साधारण हुन् । दिल्लीमा कुल १ करोड ५५ लाख मतदाता रहेका छन् । जसमध्ये ८३ लाख ४९ हजार पुरुष र ७१ लाख ७४ हजार जना महिला मतदाता रहेका छन् ।
पहिलो पटक मतदान गर्ने मतदाताको संख्या करीब २ लाख रहेको भारतीय निर्वाचन आयोगले जनाएको छ । राजधानी समेत रहेको नयाँ दिल्लीमा १३ हजार भन्दा बढी मतदान केन्द्र रहेको आयोगको भनाइ छ ।
दिल्लीमा १० वर्षदेखि आम आदमी पार्टीले सरकारको नेतृत्व गर्दै आएको छ । दिल्लीमा सन् २०१५ र २०२० को विधान सभा चुनावमा आम आदमी पार्टीले बहुमत हासिल गरेको थियो ।
२०१५ मा आम आदमी पार्टीले ७० सिटमध्ये ६७ सिट जितेको थियो भने २०२० मा ६२ सिट जितेको थियो । सन् २०२० मा भारतीय जनता पार्टीले ८ सिट जित्दा भने कांग्रेस शून्यमा रहेको थियो ।
दिल्लीमा कांग्रेसले त्यसअघि २०१५ मा भएको चुनावमा एक सिट पनि ल्याउन सकेको थिएन । विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।