दिल्ली रेलवे स्टेशनमा भागदौड, १८ को मृत्यु
- काठमाडौंभारतको राजधानी नयाँ दिल्लीस्थित रेलवे स्टेशनमा गएराति भागदौड़मा मच्चिदा मृत्यु भएकाको संख्या १८ पुगेको छ । भारतीय प्रशासनले मृत्यु भएका १८ जनाको नामावली पनि सार्वजनिक गरेको छ ।
रेलमन्त्री अश्विनी वैष्णवले नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा सो हताहती भएको पुष्टि गर्नुभयो । योसँगै रेलवे स्टेशनले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
गम्भीर घाइतेलाई २ लाख ५० हजार र सामान्य घाइतेलाई १ लाख रुपैयाँ दिने घोषणा गरिएको छ । मृतकमध्ये चार जना बालबालिका र १० जना महिला रहेको समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।
त्यहाँको प्रशासनले अत्यधिक भीडभाडका कारण सो घटना घटेको ताएको छ । यद्यपि, वास्तविक कारण पत्ता लगाउन छानबिन गर्न पनि आग्रह गरेको बीबीसीले जनाएको छ ।
रेल मन्त्रालयका प्रवक्ता दिलीप कुमारका अनुसार गएराति प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेस रेलमा ठूलो संख्यामा यात्रुहरुको भीड लागेको थियो । सो क्रममा सबैजना रेल चढ्न तछाडमछाड गर्दा भागदौड मच्चिएको उहाँको भनाई छ ।
भागदौडको कारण नखुले पनि रेलको प्रतीक्षामा रहेका धेरै यात्रुहरुबीचमा अफवाह फैलाएको हुनसक्ने दिल्ली प्रहरीले जनाएको छ । घटनाबारे थप छानबिन गर्न समिति गठन गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले भागदौडमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।