राजनीतिक धुव्रिकरणकाबीच जर्मनीमा आम निर्वाचन सुरु
- काठमाडौंबढ्दो राजनीतिक धुव्रिकरणका बीच जर्मनीमा आम निर्वाचन सुरु भएको छ । निर्वाचनमा फ्रेडरिक मर्ज नेतृत्वको कन्जरभेटिभ पार्टी क्रिश्चियन डेमोक्रेटिक्स युनियन (सीडीयू)ले बढी सिट जित्ने प्रक्षेपण गरिएको छ । यद्यपी, सो पार्टीले बहुमत हासिल गर्ने सम्भावना नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
दक्षिण पन्थी अल्टरनेटिभ पार्टी एएफडीले राम्रो परिणाम ल्याउने अपेक्षा गरिएको छ । जर्मनीको निर्वाचनलाई अमेरिका र युरोपले नजिकबाट नियालिरहेको बीबीसीले जनाएको छ । अमेरिकामा डोनाल्ड ट्रम्पको उदयसँगै रुस–युक्रेन युद्धमा ट्रम्पको रुस समर्थन नीतिले समस्यामा परेको युरोप र यसको रणनीतिक साझेदार उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई जर्मनीमा आउने आगामी नेतृत्व महत्वपूर्ण हुनेछ ।
चुनावमा आर्थिक मन्दी, आप्रवासी र रुस–युक्रेन जस्ता विषय प्रमुख एजेण्डा बनेको छ । दशकौँपछि पछिल्लो २ वर्ष लगातार खुम्चिएको अर्थतन्त्र, महङ्गो ऊर्जा र विद्युतीय गाडीको मागका बीच जर्मनी निर्वाचनमा होमिएको हो । यो निर्वाचनमा जित्नेले आगामी ४ वर्षको लागि जर्मनीको नेतृत्व गर्नेछ ।