अन्तर्राष्ट्रिय

ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भनाभन

- एजेन्सीकाठमाडौं

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भनाभन भएको छ । दुई नेताबीचको वार्ता आरोप प्रत्यारोपमा परिणत भएपछि महत्वपूर्ण मानिएको खनिज सम्झौता भाँडिएको छ । आफ्नो मुलुकको दुर्लभ खानी प्रयोग गर्न दिने र बदलामा सैन्य तथा आर्थिक सहयोग लिने सहमतीका लागि जेलेन्सकी अमेरिका जानु भएको थियो । वार्ताका क्रममा आफुलाई ह्वाइटहाउसले अपमान गरेको भन्दै जेलेन्सकी आक्रोशित हुनुभएको छ । सञ्चार माध्यमका अगाडी दुई राष्ट्रप्रमुखबीच भएको भेटवार्ता अस्वभाविक रुपमा आरोप प्रत्यारोपमा परिणत भएपछि राष्ट्रपति जेलेन्स्की ह्वाइटहाउसबाट निर्धारित समय भन्दा अगावै निस्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वार्ता निश्कर्षविहीन भएपछि युक्रेनले तेस्रो विश्वयुद्ध निम्त्याउने गरि द्वन्द अघि बढाउन खोजेको अमेरिकी राष्ट्रपति ट्रम्पले आरोप लगाउनु भएको छ । जेलेन्स्कीले पनि रुसका राष्ट्रपति पुटिनलाई हत्याराको संज्ञा दिंदै अमेरिकालाई रुससंग सम्बन्ध विस्तार नगर्न सुझाव दिनुभयो ।