अन्तर्राष्ट्रिय

अमेरिकामा कार र पार्टपुर्जामा २५ प्रतिशत आयात करको घोषणा

- एजेन्सी

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रिने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत नयाँ आयात करको घोषणा गर्नु भएको छ । पछिल्लो कर अप्रिल २ बाट लागु हुने राष्ट्रपति ट्रम्पलाई उद्यृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा रोजगारी र लगानी बढाउने बाचा गरेका राष्ट्रपति ट्रम्पको सो कदमले अमेरिकामा उल्लेखनीय कार उत्पादन अस्थायी रूपमा बन्द हुने सम्भावना रहेको विश्लेषकको भनाई छ ।

 यस्तै मूल्य बढ्ने र सहयोगीहरूसँगको सम्बन्धमा तनाव उत्पन्न हुने सम्भावना रहेको पनि उनीहरुले बताएका छन् । ट्रम्पको पछिल्लो कदमले विश्वव्यापी कार व्यापार र आपूर्ति शृङखलालाई उल्टाउने खतरा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाले गत वर्ष लगभग ८० लाख कार आयात गरेको थियो । मेक्सिको अमेरिकामा कारको शीर्ष आपूर्तिकर्ता हो । त्यस्तै दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनीले पनि अमेरिकामा कार निर्यात गर्दै आएका छन् । धेरै अमेरिकी कार कम्पनीहरूले मेक्सिको र क्यानडामा पनि व्यापार सञ्चालन गर्दै आएका छन् । विश्वको दोस्रो ठूलो कार निर्यातकर्ता जापानले अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो कदमलाइ लिएर प्रतिक्रिया जनाइसकेको छ ।