अन्तर्राष्ट्रिय

अमेरिकामा बाढी र आँधीका कारण १८ जनाको मृत्यु

- सुदीप शिवाकोटीअमेरिका

अमेरिकाको दक्षिण र मध्य पश्चिममा आएको बाढी र आँधीका कारण १८ जनाको मृत्यु भएको छ । शनिबारको आँधी र त्यसपछि लगातार वर्षाका कारण आएको बाढीका कारण स्थानीय समय अनुसार आइतबारसम्म मृत्यु भएकाको संख्या १८ पुगेको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेको छ । 

मृत्यु हुनेमा टेनिसीको पश्चिम भू–भागका १०, केन्टकीका २, मिसौरीका २, इन्डियानाका १ र अर्कान्सासका १ जना रहेका छन् । अन्य दुई जनाको ठेगाना खुलाइएको छैन । अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधी र टेनीसी, केन्टकीमा लगातार भारी बर्षाका कारण नदीको वहाव बढेर बाढी आएको थियो । 

बाढी र आँधीले सबैभन्दा बढी टेनिसीमा क्षति पुर्‍याएको राष्ट्रिय मौसम सेवाले जनाएको छ । टेनिसीमा आँधीको कारण १० जनाको मृत्यु भएको छ । एक हजार भन्दा बढी घर, व्यापारिक संरचना, बाटो, सार्वजनिक स्थलहरु जलमग्न भएका छन् । 

केन्टकीमा एक ९ वर्षीय बालक स्कूल बसतर्फ जाने क्रममा बाढीले बगाएको र अर्कान्सासमा एक ५ वर्षीय बालकको घरमाथि रुख ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मिसौरीमा आँधीमा फसेका मानिसहरुको उद्धार गर्ने क्रममा भएको दुर्घटनामा परी १६ वर्षीय स्वयंसेवकको मृत्यु भएको थियो ।

केन्टकी राज्यको फ्रयाङ्कफोर्ट सहरका मेयर लेइन विल्करसनका अनुसार नदीको गहिराइ आइतबार ४७ फिटभन्दा माथि पुगेको थियो र सोमबार बिहानसम्म ४९ फिटभन्दा माथि पुग्ने अनुमान गरिएको छ । सहरको फ्लड वाल सिस्टम ५१ फिट पानी थेग्न भएकोले ५१ फिटभन्दा कम पानी सहरमा पस्नबाट रोक्न सकिने मेयर विल्करसले बताउनुभयो । 

केही राज्यमा मुसलधारे वर्षा जारी रहेकाले बाढी आउन सक्ने मौसमविद्हरुले चेतावनी दिइरहेका छन् । अलाबामा, जर्जिया र फ्लोरिडाका केही भागमा आइतबार दिनभर आँधीको प्रभाव कायम रहेको मौसम सेवाले जनाएको छ ।

केन्टकीको उत्तर–मध्य क्षेत्रमा आपतकालीन अधिकारीहरुले फलमाउथ र वटलरका लागि अनिवार्य रुपमा संरचना खाली गर्न आदेश दिएका छन् । त्यहाँका अधिकारीहरुले तीस वर्षअघि यो नदी ५० फिट (१५ मिटर) सम्म पुगेको र जसका कारण पाँच जनाको मृत्यु भएकोले पुनः त्यो घटना नदोहोर्‍याउन संरचना खाली गर्न आदेश दिएको एपीले उल्लेख गरेको छ । 

नेसनल वेदर सर्भिसले विभिन्न राज्यका दर्जनौं स्थानमा ठुलो बाढी पुनः आउन सक्ने अनुमान गरेको छ । यसअघि १६ मार्चमा दक्षिणी क्षेत्रका ६ राज्यमा शक्तिशाली आँधीमा परी ३४ जनाको मृत्यु भएको थियो  । 

दक्षिणी क्षेत्रका मिसौरी, कन्सास, अर्कान्सास, मिसिसिपी, टेक्सस र ओक्लाहोमा राज्य आँधीबाट प्रभावित भएको थियो । मिसौरीका १२, कन्सासका ८, मिसिसिपीका ६, टेक्सासका ४, अर्कान्सासका ३ र ओक्लाहोमाका १ जनाले आँधीमा ज्यान गुमाएका थिए ।