अन्तर्राष्ट्रिय

चीनबाट आयात हुने सामानमा ५० प्रतिशत कर बढाउने अमेरिकाको चेतावनी

- एजेन्सीकाठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सबै प्रकारका वस्तुमा ५० प्रतिशत करवृद्धि गर्ने धम्की दिनुभएको छ । 

चीनले वृद्धि गरेको ३४ प्रतिशत भन्सार शुल्क फिर्ता नलिए अमेरिकामा आयात हुने सामानमा थप ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको धम्की आएको हो । 

चीनबाट आयात हुने वस्तुमा अमेरिकाले ३४ प्रतिशत करवृद्धि गरेसँगै चीनले समेत अमेरिकाबाट आयात हुने वस्तुमा ३४ प्रतशित कर लगाएको छ । चीनको सोही कदम विरुद्ध अमेरिकाले थप कर लगाउने चेतावनी दिएको हो । अमेरिकाको सो चेतावनीविरुद्ध चीनले प्रतिक्रिया दिंदै व्यापारमा चरम असन्तुलन भएको जनाएको छ । अमेरिकास्थित चिनियाँ दूतावासले चीनले करवृद्धि गर्न पाउनु आफ्नो मुलुकको अधिकार भएको जनाएको छ ।

यसैबीच, अतिरिक्त कर लगाउने अमेरिकाको धम्कीपछि चीनले पनि प्रतिक्रिया दिएको छ । ट्रम्पको धम्कीलाई चिनियाँ वाणिज्य मन्त्रालयले ‘एक अर्को ठूलो गल्ती’ भएको बताएको छ । मन्त्रालयले अमेरिकाको कुनै पनि प्रकारको धम्कीलाई स्वीकार नगर्ने र अन्तिमसम्म अतिरिक्त करविरुद्ध पूरै ताकतले लड्ने चेतावनी दिएको छ ।