अन्तर्राष्ट्रिय

चीन र अमेरिकाबीच व्यापार शुल्क घटाउने सहमति

- एजेन्सीकाठमाडौं

एक अर्काविरुद्ध चर्को करको घोषणा गरेका चीन र अमेरिकाबीच व्यापार शुल्क घटाउने सहमति भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको दुई देशका प्रतिनिधिबीचको भेटका क्रममा ९० दिनका लागि आगामी बुधबारबाट लागूहुनेगरि व्यापार शुल्क घटाउने सहमति भएको हो ।

दुईदेशबीच १ सय १५ प्रतिशत कटौती गर्ने सहमति भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसको अर्थ चिनियाँ आयातमा अमेरिकी शुल्क ३० प्रतिशतमा घट्नेछ भने अमेरिकी सामानमा चिनियाँ शुल्क १० प्रतिशतमा घट्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा चीनविरुद्ध भारी कर लगाएपछि दुई देशका प्रतिनिधिबीच पहिलो पटक प्रत्यक्ष छलफल भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानको आयातमा १ सय ४५ प्रतिशत कर लगाएपछि बेइजिङले पनि केही अमेरिकी सामानमा १ सय २५ प्रतिशतसम्म कर लगाएको थियो ।