अन्तर्राष्ट्रिय

गाजाको अस्पतालमा इजरायली आक्रमण, २८ जनाको मृत्यु

- बीबीसी

दक्षिणी गाजा क्षेत्रको खान युनिसस्थित एक युरोपेली अस्पतालमा इजरायली हवाई आक्रमणमा परी २८ जनाको मृत्यु भएको छ । लडाकु समूह हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताका अनुसार दर्जनौं घाइते भएका छन् । 

स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानले गाजा क्षेत्रको सो अस्पतालमा एकैसाथ छ वटा बम खसालेका थिए । जसबाट अस्पतालको भित्री आँगन र वरपरका क्षेत्र दुवैमा क्षति पुगेको बीबीसीले जनाएको छ । 

इजरायली सेनाले भने अस्पताल मुनि रहेको दाबी गरिएको ‘कमाण्ड एण्ड कन्ट्रोल सेन्टर’मा हमासका आतंककारीमाथि “सटिक हमला“ गरेको बताएको छ । यो सेन्टर अस्पतालको मुनि भएको इजरायली सेनाको दाबी छ ।

सो हवाई आक्रमणमा गाजा क्षेत्रमा बीबीसीका एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन् । यद्यपि, उपचारपछि उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ । स्थानीय स्रोतका अनुसार मृतक र घाइतेलाई खान युनिसको नासेर अस्पतालमा स्थानान्तरण गरिएको छ । 

इजरायली सेना र इजरायली सुरक्षा प्राधिकरण संयुक्त विज्ञप्ति जारी गर्दै हमासले आफ्नो गतिविधि सञ्चालनका लागि गाजा क्षेत्रका अस्पताल प्रयोग गर्दै आएको बताएको छ । ७ अक्टोबर २०२३ मा सुरु भएको इजरायल र हमासबीचको द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन् ।