अन्तर्राष्ट्रिय

अमेरिकाको दुई राज्यमा आँधी, २३ जनाको मृत्यु

- सुदीप शिवाकोटीअमेरिका

अमेरिकाको केन्टकी र मिसौरी राज्यमा आँधीका कारण २३ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार दिउँसोबाट मध्यपश्चिम र दक्षिण क्षेत्रमा फैलिएको आँधीका कारण हालसम्म केन्टकीका १४ र मिसौरीका ९ जनाको मृत्यु भएको अमेरिकी सञ्चार माध्यम एशोसिएटेड प्रेस (एपी) ले जनाएको छ । 

मिसौरीमा मृत्यु हुने मध्ये ५ जना सेन्ट लुइस सहरका हुन् । केन्टकीका गभर्नर एन्डी बेशियरले हालसम्म केन्टकीमा आँधीका कारण १४ जनाको मृत्यु भएको र करिब १० हजार बढी घर परिवार प्रभावित भएको अमेरिकी सञ्चार माध्यमलाई बताएका छन् । ‘आँधीकै कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ ।’ गभर्नर बेशियरले भने, ‘हामी सम्भावित क्षती रोक्न प्रयासरत् छौं ।’ 

केन्टकीको दक्षिण पश्चिम क्षेत्रमा पर्ने लरेल काउन्टीमा आँधीले अत्याधिक प्रभाव पारेको र ठूलो जनधनको क्षती पुर्‍याएको थियो । मिसौरीमा ५ हजार भन्दा बढी घर आँधीबाट क्षतीग्रस्त र विद्युत सेवा ठप्प भएको छ ।

स्थानीय प्रहरीका अनुसार राडार संकेतलाई आधार मान्दा आँधी स्थानीय समय अनुसार शुक्रबार दिउँसो साढे २ बजे मिसौरी राज्यको सेट लुइसको पश्चिम भागको फरेस्ट पार्क नजिकैबाट सुरु भएको थियो । 

मौसम विज्ञ फिलोमन गीरट्सनले यस वर्ष विभिन्न समयमा आएको आँधीले केन्टकी र मिसौरीलाई बढी प्रभाव पारेको बताए । उनले दुई महिनाको आँधीले पनि कम्तीमा २४ जनाको मृत्यु भएको र ती मृतकहरुमध्ये अधिकांश केन्टकी र मिसौरीबासी रहेको उल्लेख गरे । 

मिसौरीको सेन्ट लुइसका मेयर कारा स्पेन्सरले आँधीले यस वर्ष तीन पटक प्रभाव पारिसकेको बताइन् । ‘यो पटकको आँधी वास्तवमै भयानक थियो ।’ उनले भनिन्, ‘आँधीका कारण शुक्रबार रातिनै सेन्ट लुइसमा कफर््युनै लगाउनु पर्ने अवस्था आयो ।’ ५० जना भन्दा बढी घाइते भएको र घाइतेहरुको अवस्थाबारे एकीन जानकारी नभएको मेयर स्पेन्सरले जानकारी दिइन् ।

अघिल्लो महिना अप्रिल ६ मा आँधीकै कारण १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा टेनिसीको पश्चिम भू–भागका १०, केन्टकीका २, मिसौरीका २, इन्डियानाका १ र अर्कान्सासका १ जना थिए । १६ मार्चमा अमेरिकाको दक्षिणी क्षेत्रका ६ राज्यमा शक्तिशाली आँधीमा परी ३४ जनाको मृत्यु भएको थियो  । 

दक्षिणी क्षेत्रका मिसौरी, कन्सास, अर्कान्सास, मिसिसिपी, टेक्सस र ओक्लाहोमा राज्य आँधीबाट प्रभावित भएका थिए । मिसौरीका १२, कन्सासका ८, मिसिसिपीका ६, टेक्सासका ४, अर्कान्सासका ३ र ओक्लाहोमाका १ जनाले आँधीमा ज्यान गुमाएका थिए ।