अन्तर्राष्ट्रिय

वार्ता नहुने इरानको तर्क

इरानले अमेरिकासँग अर्को साता वार्ताको कुनै तयारी नरहेको प्रष्ट पारेको छ । इजरायलसँगको युद्धपछिको अवस्थामा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्न लागेको भन्ने समाचारलाई इरानले खण्डन गरेको हो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले सरकारी टेलिभिजनमार्फत वार्ता सुरु गर्न कुनै योजना नभएको र यसबारे सहमति वा संवाद पनि नभएको बताउनुभएको छ । उहाँले इजरायली आक्रमणबाट इरानी आणविक केन्द्रमा पुगेको क्षतिको अध्ययनपछि मात्र कुटनीतिक निर्णय लिइने जानकारी दिनुभयो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने दुई दिनअघि आगामी सातादेखि इरानसँग शान्ति सम्झौताको लागि वार्ता सुरु हुने बताउनु भएको थियो । 

सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले युद्धपछिको पहिलो सार्वजनिक सम्बोधनमा अमेरिकाको कडा आलोचना गर्दै राष्ट्रपति ट्रम्पले इरान इजरायल युद्धलाई अतिरञ्जित गरेको आरोप लगाउनुभएको छ । इरानले युद्धमा विजय हासिल गरेको दाबी गर्दै अमेरिका र इजरायल दुबैलाई गम्भीर झट्का दिएको खामेनीले जिकिर गर्नु भयो । यता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धलाई ऐतिहासिक जितको संज्ञा दिनु भएको छ । युद्धपछिको अवस्था र द्विपक्षीय अडानका कारण आणविक वार्ता पुनः सुरु हुने सम्भावना भने कमजोर देखिएको छ ।