दक्षिण कोरियाका पूर्वराष्ट्रपति योल पुनः पक्राउ
- काठमाडौंदक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई बिद्रोहको प्रयास गरेको आरोपमा पुनः पक्राउ गरिएको छ ।
सिओलको केन्द्रीय जिल्ला अदालतले योललाई पक्राउ गर्न अनुमति दिएसँगै सरकारले नियन्त्रणमा लिएको हो । प्रमाण नष्ट गर्न सक्ने जोखिम रहेको भन्दै अदालतले योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
योलमाथि सन् २०२४ को डिसेम्बरमा गरिएको ६ घण्टाको ‘मार्सल ल’को घोषणाको प्रयासलाई लिएर विद्रोह, शक्ति दुरुपयोग, सरकारी कागजात फर्जी गरेको लगायत विभिन्न ५ वटा अभियोग छ । पूर्वराष्ट्रपति योएललाई हिजो अदालतमा ७ घण्टा लामो सुनुवाइपछि हिरासतमा लिइएको हो ।
पहिलो पटक गत जनवरीमा योललाई पक्राउ गरिएको थियो । तर अदालतले दुई महिनापछि रिहा गर्न आदेश दिएको थियो । सैन्य ‘कू’ गर्न खोजेको आरोप पुष्टि भएमा योललाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्ने कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।