अन्तर्राष्ट्रिय

चीनमा बच्चा जन्माउने अभिभावकका लागि अनुदानको प्रस्ताव

- केएफएम डेस्क

चीनमा जन्मदर घट्दै गएपछि अभिभावकका लागि राष्ट्रव्यापी अनुदानको प्रस्ताव गरिएको छ । जन्मदर बढाउने उद्देश्यले सरकारले सुरु गरेको पहिलो राष्ट्रव्यापी अनुदानमा चीनका अभिभावकहरूलाई तीन वर्ष मुनिका प्रत्येक बच्चाको लागि प्रति वर्ष ३ हजार ६ सय युआन प्रस्ताव गरिएको बीबीसीले जनाएको छ । 

सत्तारुढ कम्युनिष्ट पार्टीले लगभग एक दशकअघि आफ्नो विवादास्पद एक बच्चा नीति खारेज गरेपछि पनि चीनमा जन्मदर घट्दै गएको छ । सरकारको सो प्रस्तावले झण्डै २ करोड परिवारलाई बच्चा हुर्काउने खर्चमा सहयोग पुग्र्ने विश्लेषण गरिएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेपनि चीनले जनसांख्यिकीय संकटको सामना गरिरहेको छ । चीनका धेरै प्रान्तले बच्चा जन्माउन प्रोत्साहित गर्न विभिन्न प्रकारका भुक्तानीहरू सुरु गरेका छन् । पछिल्लो पटक घोषणा गरिएको योजनाले अभिभावकहरूलाई प्रति बच्चा १० हजार ८ सय युआनसम्म प्रदान गर्ने बताइएको छ ।

बेइजिङको उत्तरपूर्वी शहर शेनयाङले तीन वर्ष मुनिको तेस्रो बच्चालाई प्रति महिना ५ सय युआन प्रदान गर्दै आएको छ । गत हप्ता, बेइजिङले स्थानीय सरकारहरूलाई निःशुल्क पूर्व–प्राथमिक शिक्षा लागू गर्ने योजनाहरू मस्यौदा गर्न पनि आग्रह गरेको थियो । चीनको पछिल्लो सरकारी तथ्यांक अनुसार सन् २०२४ मा लगातार तेस्रो वर्ष चीनको जनसंख्या घटेको छ ।