उत्तरसँगको सम्बन्ध सुधार गर्न दक्षिण कोरियाको प्रयास सुरु
- काठमाडौंसीमा क्षेत्रमा जारी विवादका बीच दक्षिण कोरियाले उत्तर कोरियासँगको सम्बन्ध सुधारको प्रयास सुरु गरेको छ ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङको नयाँ सरकारले सीमा क्षेत्रमा प्रयोग हुँदै आएको स्पीकर बन्द गर्दै उत्तर कोरियासँगको सम्बन्ध सुधारको प्रयास सुरु गरेको हो । दुई देशबीचको सीमामा उत्तर कोरिया विरोधी आवाज प्रसारणका लागि प्रयोग गरिएका लाउड स्पीकरहरु हटाउन थालिएको सियोलको रक्षा मन्त्रालयले जनाएको छ ।
गत जुनमा पदभार ग्रहण गरेको केही समयपछि राष्ट्रपति ली नेतृत्वको प्रशासनले उत्तर कोरियाली शासनको आलोचना गर्ने प्रचार प्रसार बन्द गर्दै वार्ता सुरु गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई छिमेकीबीच लामो समदेखि अवरुद्ध हुँदै आएको वार्ता अव भने अघि बढ्ने विश्लेषण गरिएको समाचारमा जनाइएको छ । यसैबीच उत्तर कोरियाले भने वार्ताका लागि सियोलले गरेको यी प्रस्ताव अस्वीकार गर्दै वार्ताका लागि इच्छुक नरहेको प्रतिक्रिया दिएको छ ।