युक्रेनलाई रुससँग शान्ति सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँग शान्ति सम्झौता गर्न अनुरोध गर्नुभएको छ । रुस धेरै शक्तिशाली राष्ट्र भएको र युक्रेन नभएकाले सम्झौता गर्नुपर्ने राष्ट्रपति ट्रम्पले बताउनुभएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तापछि ट्रम्पले रुसलाई नभई युक्रेनलाई युद्धविरामको दबाब दिनुभएको हो । वार्तामा रुसले युक्रेनको डोनेट्स्क क्षेत्रमा पूर्ण नियन्त्रण गर्न दिएमा युद्ध विराम गर्न सकिने समाचार संस्था रोयटर्सले स्रोतलाई उदृत गर्दै जनाएको छ । युक्रेनको सो औद्योगिक शहर मस्कोले लामो समयदेखि कब्जा गर्न खोजेको बताइन्छ । यद्यपी, रुसको सर्तसहितको सो प्रस्तावलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अस्वीकार गर्नुभएको जनाइएको छ । सन् २०१४ मा युक्रेनमा आक्रमण सुरु गरेदेखि नै रुसले अहिलेसम्मि डोनेट्स्क प्रान्तको तीन चौथाई हिस्सा कब्जासहित पाँचौँ भूभाग नियन्त्रण गरिसकेको छ ।
यसैबीच रुसले पछिल्लो पटक युक्रेनमाथि व्यापक हवाई आक्रमण गरेको छ । युक्रेनी वायु सेनाका अनुसार रुसको तर्फबाट ८५ वटा आत्मघाती ड्रोन र एउटा बेलिस्टिक मिसाइल प्रहार भएको छ । युक्रेनको राजधानी किभलगायत चारवटा अग्रपंक्ति क्षेत्रलाई लक्षित गरी आक्रमण भएको थियो । युक्रेनी वायु सुरक्षा निकायले तीमध्ये ६१ वटा ड्रोन खसाल्न सफल भएको दावी गरेको छ । रुसद्वारा सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको युक्रेन आक्रमण अहिलेसम्म रोकिएको छैन ।