अन्तर्राष्ट्रिय

अत्यधिक गर्मीका कारण श्रमिकको उत्पादन गर्ने क्षमता र ज्यान जोखिममा रहेको राष्ट्रसंघको भनाइ

- एजेन्सीकाठमाडौं

संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनका कारण विश्वभर तापमान बढ्दै गएको भन्दै सरकार र रोजगारदातालाई तत्काल कामदारको हितमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।

 संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठन र मौसम संगठनले संयुक्त प्रतिवेदन सार्वजनिक गर्दै अत्यधिक गर्मीका कारण श्रमिकहरुको उत्पादन गर्ने क्षमता र ज्यान समेत जोखिममा परेको जनाउँदै प्रभावकारी कदम चाल्न आग्रह गरेको हो । 

प्रतिवेदन अनुसार तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि जाँदा प्रति डिग्री श्रमिकको उत्पादन गर्न सक्ने क्षमता ३ प्रतिशत सम्म घटेको छ । अत्यधिक गर्मीका कारण कृषि, निर्माण, माछापालनजस्ता क्षेत्र सहित विकासशील देशमा थप समस्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांक अनुसार विश्वभर करिब २ अर्ब ४० करोड श्रमिक अत्यधिक गर्मीमा काम गर्न बाध्य छन् ।