अमेरिकी रक्षा मन्त्रालयद्वारा गुप्तचर निकाय पेन्टागनका प्रमुख पदबाट बर्खास्त
अमेरिकी रक्षा मन्त्रालयले गुप्तचर निकाय पेन्टागनका प्रमुख लेफ्टिनेन्ट जनरल जेफरी क्रुजलाई पदबाट बर्खास्त गरेको छ । ह्वाइट हाउसले इरानमा अमेरिकी आक्रमणको प्रभावको मूल्यांकन गर्ने प्रतिवेदनको आलोचनापछि सो कदम उठाएको हो । पेन्टागनले एक विज्ञप्ती जारी गर्दै क्रुजले अब अमेरिकी रक्षा खुफिया एजेन्सी (डीआईए) को प्रमुखको रूपमा काम नगर्ने उल्लेख गरेको छ । पेन्टागनले अन्य दुई वरिष्ठ सैन्य कमाण्डरहरूलाई पनि हटाएको बीबीसीले जनाएको छ । यद्यपी, रक्षा मन्त्रालयले यसबारेमा कुनै स्पष्टीकरण दिएको छैन । यसअघि, गएको जुन महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनले खुलासा गरेको रिपोर्टसँग कडा असहमति जनाउनुभएको थियो । जसमा अमेरिकी आक्रमणले इरानको परमाणु कार्यक्रमलाई केही महिना मात्र ढिलाइ गरेको प्रतिवेदनमा उल्लेख छ । ह्वाइट हाउसले सो प्रतिवेदनलाई पूर्ण रूपमा गलत भएको टिप्पणी गरेको थियो । राष्ट्रपति ट्रम्पले इरानमा रहेका परमाणु स्थलहरूलाई पूर्ण रूपमा नष्ट भएको घोषणा गर्नुभएको थियो । र, उहाँले मिडियालाई इतिहासको सबैभन्दा सफल सैन्य आक्रमणमध्ये एकलाई अपमानित गर्ने प्रयास गरेको आरोप पनि लगाउनुभएको थियो ।