अन्तर्राष्ट्रिय

हुथी लडाकु विरुद्ध यमनमा इजरायलको सैन्य कारबाही

हुथी लडाकुको मिसाइलको जवाफ दिएको भन्दै इजरायलले यमनको राजधानी सनामा सैन्य कारबाही गरेको छ । सो आक्रमणमा परि ६ जनाको मृत्यु र ८६ जना घाइते भएको हुथी स्वास्थ्य अधिकारीले जनाएका छन् । यी हमलाहरु यमनमा इजरायल र हुथी लडाकुहरुबिचको एक वर्षभन्दा बढी समयदेखि भइरहेको प्रत्यक्ष आक्रमण र प्रतिहमलाहरुमध्ये पछिल्लो भएको समाचार संस्था रोयटर्सले जनाएको छ । जुन गाजामा इजरायली आक्रमणबाट उत्पन्न प्रभावको अंश मानिन्छ । इजरायली सेनाले राष्ट्रपति भवन रहेको सैन्य परिसर, दुई पावरप्लान्ट र इन्धन भण्डारण स्थलमा लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । हुथी लडाकुले बारम्बार इजरायल र यसको नागरिकलाई लक्षित गर्दै हमला गरेको हुँदा सो आक्रमण गरिएको इजरायली सेनाले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।