अन्तर्राष्ट्रिय

पाकिस्तानमा बाढीको चेतावनीपछि १ लाख ५० हजार बढी नागरिकको स्थानान्तरण

- एजेन्सीकाठमाडौं

पाकिस्तानको पञ्जाब प्रान्तका तीन प्रमुख नदी आसपास क्षेत्रका कम्तीमा १ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

भारतले बाँधबाट अतिरिक्त पानी छोड्ने तयारीमा रहेको जानकारी दिएको केही समयमै उनीहरुको उद्धार गरिएको हो ।

हालसालै भारत र पाकिस्तान दुवै मुलुकमा लगातारको अविरल वर्षा र बाढीले जनजीवन प्रभावित बनाएको छ । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भारतीय क्षेत्र हुँदै आउने रवी, सतलज र चेनाब नदीमा बाढीको जोखिम देखिएको छ ।

 सोहि अनुसार ती नदी आसपास रहेका गाउँमा रहेका स्थानीयलाई स्थानान्तरण सुरु गरिएको हो । भारतको मढोपुर बाँधबाट पानी छोडिने भएपछि पाकिस्तानको पञ्जाब प्रान्तको ठूलो भूभाग डुबानमा पर्ने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 काश्मिर क्षेत्रमा केहि महिना अघि भएको हिंसात्मक आक्रमण पछि चिसिएको भारत र पाकिस्तानबीचको सम्बन्धमा झन् दरार आउन सक्ने विश्लेषण भएको छ ।