माल्दिभ्समा सन् २००७ पछि जन्मिएकाले धुम्रपान प्रयोग गर्न नपाउने
- काठमाडौंमाल्दिभ्सले सन् २००७ पछि जन्मिएकाहरु माथि धुम्रपानको प्रयोगमा प्रतिबन्ध लगाउन सुरु गरेको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले सुरु गरेको यो पहल नोभेम्बर १ अर्थात् आजदेखि लागू भएको हो ।
सो कदमले सार्वजनिक स्वास्थ्यको रक्षा गर्ने लक्ष्य राखेको सरकारी अधिकारीहरुले जनाएका छन् । माल्दिभ्सको सरकारले सन् २००७ जनवरी १ पछि जन्मिएका व्यक्तिहरुलाई धुम्रपानजन्य पदार्थ किन्ने, प्रयोग गर्ने वा विक्रिवितरणमा निषेध गरिएको स्पष्ट पारेको छ ।
त्यस्ता पदार्थको विक्रिवितरणका लागि खुद्रा विक्रेताहरुले प्रयोगकर्ताको उमेर प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको समाचारमा जनाइएको छ । पर्यटकीय देश मल्दिभ्सको भ्रमण गर्न पुग्ने विदेशी पर्यटकको हकमा समेत सो व्यवस्था लागू हुने सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उमेर नपुगेका व्यक्तिलाई धुम्रपान जन्य वस्तुको विक्रिवितरण गरेमा ३ सय २० देखि ३ हजार २ सय अमेरिकी डलरको कारबाही गर्ने सरकारले व्यवस्था मिलाएको द गार्डियनले जनाएको छ । यसअघि न्यूजिल्याण्डले पनि सोही प्रकृतिको कानुनी व्यवस्था गरेपनि सरकारले एक वर्ष नहुँदै सन् २०२३ नोभेम्बरमा सो निर्णय फिर्ता लिएको थियो।