अन्तर्राष्ट्रिय

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा २० जनाको मृत्यु

काठमाडौं

अफगानिस्तानको उत्तरी क्षेत्रमा गएको ६ दशमलव ३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर गहिराइमा सो भूकम्प गएको थियो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान प्रान्तमा ३ सय २० जना घाइते भएका छन् । प्रभावित क्षेत्रदेखि करिब ४ सय २० किलोमिटर टाढाको राजधानी काबुलमा पनि भूकम्पको धक्का महसुस भएको बताइएको छ । 

सन् २०२३ मा इरानी सीमा नजिकैको पश्चिमी हेरात र सन् २०२२ मा पूर्वी नङ्गरहार प्रान्तमा गएको भूकम्पले सयौंको ज्यान लिनुका साथै हजारौं घरहरू ध्वस्त भएका थिए ।