अन्तर्राष्ट्रिय

पाकिस्तानमा कारखाना विष्फोट हुँदा १८ जनाको मृत्यु

- केएफएम डेस्क काठमाडौं

पाकिस्तानमा ग्लू बनाउने एक कारखानामा विष्फोट हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

 पूर्वी क्षेत्रमा भएको सो विष्फोटका कारण कारखानामा रहेका अन्य २१ जना घाइते भएका छन् । मृत्यु हुनेमा १५ जना सोही कारखानामा कार्यरत मजदुर रहेको समाचारमा जनाइएको छ । विष्फोटपछि सो कारखाना क्षतिग्रस्त भएको छ ।

 विष्फोटपछि सो कारखानाका सञ्चालक भने फरार रहेकाले प्रहरीले खोजिकार्य शुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पञ्जाब प्रान्तका प्रहरी प्रमुख उस्मान अनवरका अनुसार विस्फोटको कारण अहिलेसम्म खुल्न सकेको छैन । यद्यपि ग्यास चुहावटका कारण सो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । 

यसैबीच स्थानीय प्रशासकहरुले भने भवन कानूनको उल्लङ्घन गर्दै आवासीय क्षेत्रमा कारखाना निर्माणका लागि अनुमति दिँदा सो घटना भएकाले अनुसन्धान हुनुपर्ने बताएका छन् ।