बेलायतकी पूर्व मन्त्रीलाई बंगलादेशमा २ वर्षको जेल साजाय
- काठमाडौंबेलायतकी पूर्व मन्त्री टुलिप सिद्दिकीलाई भ्रष्टाचारको आरोपमा बङ्गलादेशको एक अदालतले दुई वर्षको जेल सजाय हुने फैसला सुनाएको छ । सिद्दिकी सहित अन्य १६ जनालाई एकै पटक भ्रष्टाचार मुद्दामा सो फैसला सुनाइएको हो ।
अदालतले सिद्दिकीलाइ दुई वर्षको जेल र १ लाख बंगलादेशी टाका जरिवाना गर्ने फैसला गरेको समाचारमा जनाइएको छ । सिद्दिकी माथि राजधानी ढाकामा आफ्नो परिवारका सदस्यलाई जग्गा व्यवस्था मिलाउन दबाब दिएको आरोपमा अदालतले दोषी करार गरेको हो ।
भारतमा निर्वासित जीवन बिताइरहेकी पूर्व प्रधानमन्त्री शेख हसिना र सिद्दिकीबीच पारिवारिक साइनो रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आफूबारे प्रश्न उठेपछि सिद्दिकीले बेलायत सरकारको मन्त्रीबाट केही महिनाअघि राजिनामा दिनुभएको थियो ।
बंगलादेशको घटनामा दोषी ठहर भएपनि सिद्दिकी भने अहिले लन्डनमा हुनुहुन्छ । बङ्गलादेशमा शेख हसिनाको सत्ता ढलेपछि सरकारी अभियोजनकर्ताले हसिना सहित उहाँका सहयोगी र परिवारका सदस्यविरुद्ध विभिन्न कसुरमा मुद्दा दर्ता गरेका छन् ।