मलेसियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर
- काठमाडौंमलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । राज्य स्वामित्वको लगानी कोषबाट अर्बौँ डलर हिनामिना भएको प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्री रजाकलाई त्यहाँको उच्च अदालतले दोषी ठहर गरेको हो ।
७२ वर्षीय नजिबलाई अदालतले पदको दुरुपयोगसम्बन्धी चार आरोप र वान एमडीबी नामक कोषको ७० करोड अमेरिकी डलर रकम अपलचलनमा दोषी ठहर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अदालतले दोषी ठहर गरेपनि पूर्व प्रधानमन्त्री नजिबले भने आफूमाथिको आरोपलाई अस्वीकार गर्नुभएको छ । साउदी अरेबियाबाट प्राप्त चन्दालाई आफूले प्रयोग मात्र गरेको उहाँले प्रतिक्रिया दिनुभएको समाचारमा जनाइएको छ ।