गृहयुद्धको छायाँमा म्यानमारमा पहिलो चरणको चुनाव सम्पन्न
काठमाडौंगृह युद्धमा फसेको म्यानमारमा आज पहिलो चरणको निर्वाचन भएको छ । सैन्य शासनको अधिनमा निर्वाचन भएको हो । पाँच वर्षपछि पहिलो पटक भएको आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न भए पनि नतिजा भने अर्को महिना हुने दोस्रो चरणको मतदानपछि मात्र सार्वजनिक हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
पहिलो चरणअन्तर्गत आज ३ सय ३० मध्ये १ सय २ क्षेत्रमा मतदान भएको छ भने दोस्रो चरणको मतदान आगामी जनवरी ११ र तेस्रो चरणको मतदान जनवरी २५ मा हुने तय भएको छ । निर्वाचनको अन्तिम नतिजा फेब्रुअरीभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ । सन् २०२१ मा सैन्य कू मार्फत सत्ता सम्हालेको सेनाले यस निर्वाचनलाई पुनः लोकतन्त्रतर्फ फर्किने प्रयासका रुपमा प्रस्तुत गरेपनि वैधतामाथि भने विभिन्न प्रश्न उठेको छ ।
यसअघि लोकप्रिय रहेका प्रमुख विपक्षी दलहरुलाई निर्वाचनबाट सेनाले प्रतिबन्ध लगाएको तथा कतिपय स्थानमा मतदातालाई मतदानका लागि धम्की दिएको आरोप समेत सेनामाथि लागेको छ । सन् २०२१ फेब्रुअरीमा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै त्यहाँको सैन्य नेतृत्वले सत्ता सञ्चालन सुरु गरेको थियो ।