अफगानिस्तानमा बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु
काठमाडौंअफगानिस्तानमा लामो समयदेखि जारी खडेरीका बीच परेको भारी वर्षा र हिमपातका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । वर्षा पछि आएको बाढीमा परि उनीहरुको मृत्यु भएको हो । हेरात प्रान्तका गभर्नरका प्रवक्ता मोहम्मद युसुफ सइदीका अनुसार हेरातको कबकान जिल्लामा एकै घरका पाँच सदस्यको मृत्यु भएको छ ।
अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार गत सोमबारदेखि बाढी प्रभावित जिल्लामा मानवीय क्षति भएको छ भने मौसममा आएको परिवर्तनले देशका मध्य, उत्तरी, दक्षिणी र पश्चिमी क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।
बाढीका कारण १ हजार ८ सय परिवार प्रभावित भएका छन् । पछिल्लो पटकको वर्षाका कारण यसअघि नै जोखिममा रहेका शहरी तथा ग्रामीण वस्तीमा थप जोखिम बढेको अल जजिराले जनाएको छ ।